दाङ । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कार र हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जना अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले मंगलबार अबेरसम्म चलेको थुनछेक बहसपछि अभियुक्तहरूलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म बाँकेको खजुरास्थित बालसुधार गृहमा पठाउन आदेश दिएको हो।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार पक्राउ परेका चारै जना १८ वर्षभन्दा कम उमेरका किशोरहरू भएकाले उनीहरूलाई सुधार गृह पठाइएको हो।
गत फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टले इनिशाको बलात्कारपछि यौनाङ्गमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको पुष्टि गरेको थियो। यस घटनामा इनिशाका अभिभावकले चारै जनाविरुद्ध सामूहिक बलात्कार गरी हत्या गरेको किटानी जाहेरी दिएका थिए। सोही आधारमा सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारका कारण मृत्यु भएको दाबीसहित अभियोगपत्र दर्ता गरेको थियो।
यद्यपि, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत ११ गते बुझाएको अनुसन्धान प्रतिवेदनमा भने यो घटना सामूहिक नभई एक जनाको मात्र संलग्नता रहेको राय पेस गरिएको थियो। प्रहरीले इनिशाका प्रेमी भनिएका मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुरमा जन्मकैद तथा अन्य तीन जनालाई ज्यान सम्बन्धी कसुरमा मात्र मुद्दा चलाउन माग गरेको थियो। तर, अदालतले हाललाई चारै जनालाई थुनामा पठाउने आदेश दिँदै मुख्य अभियुक्तबाहेक अन्य एसइई परीक्षामा सामेल हुने अवस्थामा रहेका किशोरहरूको परीक्षा व्यवस्थापन गर्न र पीडित परिवारको सुरक्षा प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ।
यस मुद्दामा सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाइँ र पुष्पा चालिसेले बहस गरेका थिए भने जाहेरीवालाका तर्फबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीहरूले पैरवी गरेका थिए। यस्तै, प्रतिवादी किशोरहरूको तर्फबाट पनि छ जना अधिवक्ताहरूले बहस गरेका थिए। हालसम्म पीडित इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमै रहेको छ भने अदालतको यो आदेशसँगै घटनाले कानुनी कारबाहीको अर्को चरण प्रवेश गरेको छ।

