काठमाडौँ । ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च पदमा पुगेका राउत आफ्नो कार्यकाल पूरा गरी जिम्मेवारीबाट बाहिरिन लागेका हुन्।
सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित भई भोलिदेखि बिदा हुनेछन्। उनको अवकाशसँगै सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशका रूपमा सम्हाल्नेछिन्।
वकालत पेशामा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउत २०७३ साउन १७ गते सर्वोच्च प्रवेश गरेका थिए। न्यायपालिकाभित्रका विकृति र विसंगति अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको समिति र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय समितिमा सदस्य रहेर उनले कार्य गरेका थिए। सुधारका एजेन्डामा पहिलेदेखि नै संलग्न रहेका कारण उनको कार्यकालमा न्यायालयले नयाँ गति लिने र विसंगतिहरू अन्त्य हुनेमा धेरैले ठूलो अपेक्षा राखेका थिए।
यद्यपि, करिब १८ महिना प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दा उनले केही संरचनागत सुधारका प्रयास गरे पनि आफैँ संलग्न भएर तयार पारिएको सुधारसम्बन्धी प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै न्यायिक वृत्तमा चर्चा भइरहेको छ। न्यायालयको शुद्धीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे पनि महत्वपूर्ण प्रतिवेदनहरू दराजमै थन्किएको अवस्थामा उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। अब कायममुकायमको जिम्मेवारी सम्हाल्न लागेकी सपना प्रधान मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिकै हुन्।

