काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादव विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै यादवको जितले कानुनी पूर्णता पाएको हो। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेपछि उनको उम्मेदवारी कायम गराउने प्रयास असफल भएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनअनुसार कर्जा सूचना केन्द्रले किशोरी साहको निर्माण कम्पनी ‘कमल निर्माण सेवा प्रालि’ लाई कालोसूचीमा राखेको पाइएपछि निर्वाचन आयोगले गत फागुन १८ गते उनको उम्मेदवारी खारेज गरिदिएको थियो। उक्त कम्पनीले २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको देखिएको थियो। साहले आफ्नो उम्मेदवारी पुनः कायम गर्न माग गर्दै फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो।
यसअघि न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले कर्जा सूचना केन्द्रबाट प्राप्त पत्रका आधारमा साह कालोसूचीमा नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको भए तापनि पछिल्लो संयुक्त इजलासले त्यसलाई निरन्तरता दिन अस्वीकार गरेको हो। साहले राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट समेत दायर गर्नुभएको थियो। सर्वोच्चको पछिल्लो आदेशसँगै निर्वाचन आयोगले मातृका यादवलाई यसअघि नै निर्वाचित घोषित गरेको निर्णयले कानुनी वैधता पाएको छ।

