काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा एक नेपाली नागरिक फिलिपिन्समा पक्राउ परेका छन्।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सहरअन्तर्गत बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भएका पाठकले अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईसहित करिब १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको अभियोग छ।
पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले करिब एक महिनाअघि फौजदारी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। साथै, मंसिर २६ गते जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी अभियोगमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले पाठक विदेशमा रहँदा गम्भीर सुरक्षा जोखिमसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको दाबी गरेको छ। प्रहरी अनुसन्धानअनुसार उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको, आर्थिक सहयोगको प्रस्ताव गरेको तथा हतियारमा पहुँचको विषयसमेत उठाएको उल्लेख गरिएको छ। साथै, एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्या योजनासँग उनको नाम जोडिएको बताइएको छ।
अनुसन्धानका क्रममा पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेको र डिसेम्बर १८ सम्म बसोबासको अनुमति पाएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको फिलिपिन्स प्रहरीले जनाएको छ।

