इजलास सञ्चालनकै क्रममा सर्वोच्च अदालतका इजलास अधिकृत राकेशमणी उपाध्यायलाई ब्रेन हेमोरेज, उपचारकालागि सहयोगको अपिल

काठमाडौं । सर्वोच्च अदालतमा इजलास सञ्चालन भइरहेकै क्रममा इजलास अधिकृत (उपसचिव) राकेशमणी उपाध्याय एक्कासी अस्वस्थ भई ढल्नुभएको छ।

इजलासमै स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई तत्कालै सर्वोच्च अदालत नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको एमआरआई परीक्षणमा उहाँलाई गम्भीर ब्रेन हेमोरेज भएको पुष्टि भएको न्यायपालिका अधिकृत समाजले जनाएको छ।

चिकित्सकका अनुसार हाल उहाँको अवस्था संवेदनशील रहेको छ। सर्वोच्च अदालतका माननीय न्यायाधीश नहकुल सुवेदी तथा मुख्य रजिष्ट्रार विमल पौडेलको उपस्थितिमा चिकित्सकले हालको अवस्थामा उपाध्याय पुनः पहिलेजस्तै पूर्ण रूपमा स्वस्थ हुने सम्भावना करिब ५० प्रतिशत रहेको जानकारी गराएका छन्।

घटनापछि इजलासको कार्य केही समय प्रभावित भएको थियो। सहकर्मीहरूका अनुसार कामकै सिलसिलामा अचानक यस्तो अवस्था आएको हो।

कानुनबमोजिम कर्मचारी बिरामी हुँदा नेपाल सरकारबाट उपचारको व्यवस्था भए पनि सहकर्मीको नाताले थप सहयोग आवश्यक ठानेर आर्थिक संकलन सुरु गरिएको न्यायपालिका अधिकृत समाजले जनाएको छ। हालसम्म कर्मचारीहरूबाट ४० हजार रुपैयाँ संकलन भइसकेको छ।

उपचारलाई निरन्तरता दिन थप सहयोग आवश्यक रहेको भन्दै अन्य कार्यालयमा कार्यरत कर्मचारी तथा इच्छुक व्यक्तिहरूलाई सहयोगका लागि आह्वान गरिएको छ। सहयोग गर्न चाहनेले न्यायपालिका अधिकृत समाजको आधिकारिक फेसबुक मेसेन्जरमार्फत सम्पर्क गर्न वा सर्वोच्च अदालतका उपरजिष्ट्रार सदन अधिकारी (९८५१३११३११) लाई सम्पर्क गर्न सक्ने जनाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज