जेनजी आन्दोलनमा भागेका ९ हजार कैदी कारागार फर्किए, सम्पर्कमा नआएका साढे ६ हजारको सूची सार्वजनिक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार कैदी कारागार फर्किएका छन् । अझै सम्पर्कमा नआएका साढे ६ हजारको भने कारागार विभागले सूची सार्वजनिक गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जनाएको हो ।

सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको हो ।

यसअघि २०८२ असोज १० गते गृह मन्त्रालयले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको थियो।

उक्त कार्यदल गठनपछि अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् । तथापि, अझै पनि ५ हजार ५४७ जना कैदीबन्दी कारागार बाहिर रहेको अवस्थामा छन् ।

पछिल्लो निर्णयअनुसार, हालसम्म फरार रहेका कैदीबन्दीको नामावली सहितको विवरण सम्बन्धित कारागार कार्यालयबाट प्राप्त भई गृह मन्त्रालयमार्फत विभिन्न निकायमा पठाइनेछ ।

यसमा निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभाग लगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय समावेश छन् । यसका साथै, विभागमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि यो विवरण पठाइने व्यवस्था गरिएको छ ।

आइतबारसम्म फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभागको वेबसाइटमा प्रकाशित गरिनुका साथै सबै जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत समेत सार्वजनिक गरिनेछ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सो अन्तर्गत रहेका कार्यदलले आफ्नो जिल्लाभित्रका सार्वजनिक सेवा प्रवाह गर्ने सबै तहका निकाय तथा कार्यालयमा यो विवरण पठाई फरार कैदीबन्दी कुनै पनि सेवा प्राप्त गर्न आएको खण्डमा सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्न सहयोग गर्ने व्यवस्था मिलाइनेछ ।

यहिँ असोज १० गते मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयानुसार गठित कार्यदलले फरार कैदीबन्दीको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अगाडि बढाउनेछ ।

हाल फरार रही कारागारमा फर्की आउने बन्दीको विवरण सम्बन्धित कारागार कार्यालयले तत्काल अद्यावधिक गरी कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, कार्यदल र जिल्लास्थित सुरक्षा निकायहमा यथाशीघ्र जानकारी गराउनुपर्नेछ ।

यस जानकारीका आधारमा वेबसाइटमा सार्वजनिक गरिएको विवरणलाई समेत निरन्तर अद्यावधिक गरिनेछ । कारागार व्यवस्थापन विभागले यस सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराउँदै फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यमा सहयोग पुर्‍याउनका लागि अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज