काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
पूर्वअध्यक्ष तारानाथ दहाल, गोविन्द आचार्य, रमेश विष्टसहितका पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन्।
उनका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय लोकतन्त्रविरोधी र संविधानविपरीत छ। विज्ञप्तिमा भनिएको छ, “दर्ता नभएको बहानामा लगाइएको प्रतिबन्धले संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) माथि प्रत्यक्ष प्रहार गरेको छ।”
पत्रकार नेताहरूले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्। उनीहरूले सामाजिक सञ्जाललाई पूर्णरूपमा बन्द गर्ने कठोर निर्णय संसद्मार्फत कानुन बनाएर नियमन गर्ने बाटो अवरुद्ध गर्ने नियतसहित आएको आरोप समेत लगाएका छन्।
विज्ञप्तिमा सामाजिक सञ्जाल बन्दका कारण लाखौँ विदेशमा रहेका नेपाली नागरिक र उनीहरूका परिवारबीचको सम्पर्क टुटेको, बालबालिकाको शिक्षामा असर परेको र हजारौँ व्यक्तिको रोजगारी संकटमा परेको उल्लेख छ।
पूर्वपदाधिकारीहरूले तत्काल प्रतिबन्ध हटाई सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा कार्यदल गठन गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

