काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा आलोचनात्मक आवाजलाई दबाउन मुद्दा हाल्ने, आफ्नालाई जोगाउने र अभिव्यक्ति नियन्त्रण गर्ने प्रवृत्ति सरकारले निरन्तरता दिएको दाबी गरे ।
“वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन खोजेको छ,” प्रचण्डले भने, “सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक मात्र नभई सर्वोच्च अदालतको आदेशको समेत अपव्याख्या हो ।”
उनका अनुसार सरकारले लिएको निर्णयले न त संविधान प्रदत्त स्वतन्त्रतालाई सम्मान गरेको छ, न त देशको अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई सहज बनाएको छ । बरु, सम्पर्क र सञ्चार नै असहज बनाइएको छ ।
संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र छलफलसहित अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गरिएको भन्दै उनले आपत्ति जनाए ।
“हाम्रो पार्टी सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमनको पक्षमा अडिग छ,” प्रचण्डले भने, “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई जोडदार माग गर्दछु ।”


