काठमाडौँ । भारतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आज आउँदै छन् । उनी बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा नेपाल आउन लागेका गवई ‘नेपाल–इन्डिया जुडिसियल डायलग’ शीर्षकको दुई दिने कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रम यही शुक्रबार र शनिबार काठमाडौंमा हुने भएको छ ।
२०२५ मे १४ मा पदभार ग्रहण गरेका गवई भारतका ५२ औं प्रधान न्यायाधीश हुन् । नेपाल भ्रमण सकेर उनी शनिबार नै स्वदेश फर्किने कार्यक्रम छ ।
यसअघि पनि नेपाल र भारतका प्रधान न्यायाधीशबीच आपसी भ्रमण हुँदै आएको छ । सन् २०२३ मा तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत गएका थिए भने त्यसको जवाफी भ्रमण स्वरूप भारतीय प्रधान न्यायाधीश धनन्जय यश्वन्त चन्द्रचुड सन् २०२४ मा तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

