काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा हुँदैछ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको निवेदनमा शाहलाई अदालतको आदेशको अवज्ञा गरेको भन्दै कारबाहीको माग गरिएको हो। न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ। यो मुद्दाको दोस्रो सुनुवाइ हो, र कानुन व्यवसायीहरूले आजकै सुनुवाइबाट निर्णायक आदेश आउने सम्भावना व्यक्त गरेका छन्।
२०७९ भदौ १ मा दर्ता गरिएको उक्त मुद्दा नर्भिक अस्पतालको संरचना भत्काउने विषयसँग सम्बन्धित हो। त्यसबेला सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन अन्तरिम आदेश दिएको थियो। आदेशपछि मेयर शाहले सामाजिक सञ्जालमा ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भन्ने टिप्पणी गरेका थिए।
शाहको उक्त टिप्पणीलाई अदालतको अवहेलनाको रूपमा व्याख्या गर्दै अधिवक्ता जोशीले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

