काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
अधिवक्ता मोनिका धाख्वासहित चारजनाले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका छन्। अदालतले उक्त रिटको सुनुवाइ शुक्रबारका लागि तोकेको छ।
रिटमा नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते जारी गरेको टेलिग्राम बन्द गर्ने निर्देशन तत्काल खारेज गर्न माग गरिएको छ। साथै, निर्देशन कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश पनि माग गरिएको छ।
निवेदकले प्राधिकरणको निर्देशन संविधानमा प्रदत्त मौलिक हक विपरीत भएको र विद्युतीय कारोबार ऐनको दफा ४३ सँग समेत बाझिने दाबी गरेका छन्। उनीहरूले मुद्दालाई अग्राधिकारमा राख्न सर्वोच्चसँग अनुरोधसमेत गरेका छन्।
रिटमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।

