इटहरीमा नेपाल कानून व्यवसायी परिषद्को ३२औं स्थापना तथा आत्ममूल्यांकन दिवस सम्पन्न

सुनसरी । नेपाल कानून व्यवसायी परिषद्को ३२औं स्थापना दिवसको अवसरमा इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षता र अधिवक्ता रमेश पोखरेलको सञ्चालनमा कार्यक्रम अघि बढाइएको थियो।

प्रमुख अतिथि न्यायाधीश ढकालले परिषद्ले गर्दै आएको परीक्षा सञ्चालन, नाम दर्ता, क्षमता विकास र आचारसंहिता कार्यान्वयन जस्ता गतिविधिलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। वकालत पेशालाई नैतिकवान र मर्यादित बनाउन अध्ययन–अनुसन्धान समिति गठन गर्नुपर्नेमा जोड दिँदै उहाँले कानुनी ज्ञान र अनुभव साटासाटका लागि वैदेशिक भ्रमणमार्फत अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, प्रदेश मुख्य न्यायाधीवक्ता, कोशी प्रदेशका १४ जिल्लाका बार अध्यक्ष, वरिष्ठ अधिवक्ता र अन्य कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो। विभिन्न वक्ताहरूले वकालत पेशाको महत्व, चुनौती र सम्भावनाबारे आफ्ना विचार व्यक्त गरे।

अर्धशताब्दीभन्दा बढी समय कानुनी सेवा प्रदान गर्दै आएका वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेश चन्द्र न्यौपाने, अधिवक्ता देवीबहादुर घिमिरे, पूर्व पार्षद तथा वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरत बहादुर थापा, प्रकाश बाबु पन्त र उद्धव चन्द्र घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको थियो।

नेपाल कानून व्यवसायी परिषद २०५० सालमा बनेको नेपाल कानून व्यवसायी परिषद ऐनअन्तर्गत स्थापना भई २०५१ साल साउन २७ गतेदेखि पूर्णरूपमा लागू भएको हो। परिषदको अध्यक्ष महान्यायाधिवक्ता र उपाध्यक्ष नेपाल बार एसोसिएशनका अध्यक्ष रहने प्रावधान छ। परिषदले वकालत पेशामा प्रवेशका लागि परीक्षा लिने, नाम दर्ता गर्ने र आचारसंहिता लागू गर्ने जिम्मेवारी वहन गर्दै आएको छ।

परिषद्को तथ्यांक अनुसार हालसम्म २१,५४० जना कानुन व्यवसायीले प्रमाणपत्र पाएका छन्, जसमा ४,२०० जना महिला छन्। कार्यक्रममा झापा बारकी सहसचिव तथा महिला समिति अध्यक्ष सानु कार्की बस्नेत ‘सिता’ले नवप्रवेशी महिला कानुन व्यवसायीहरूको हक–हित, क्षमता विकास र अधिकार सुनिश्चितताका लागि संगठित रूपमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार

ताजा न्यूज