बागमती नगरपालिकाका मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ महिनाअघि दायर गरेको मुद्दामा बुधबार विशेष अदालतले फैसला सुनाउँदै थापालाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको संयुक्त इजलासले थापालाई गैरकानुनी सम्पत्ति आर्जनका साथै हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत दोषी ठहर गरेको हो।

अख्तियारले थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। आरोपपत्रअनुसार, थापाको नाममा १३ करोड २० लाखभन्दा बढी सम्पत्ति देखिएको भए पनि सात करोड ८६ लाख रुपैयाँको मात्रै वैधानिक स्रोत पुष्टि भएको थियो।

थापाको पहिलो कार्यकाल (साउन ०७४ देखि माघ ०७९) को आम्दानी–खर्च विश्लेषणका क्रममा उनले आम्दानीभन्दा धेरै खर्च र लगानी गरेको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानमा घरजग्गा खरिद, सेयर खरिद, बैंक कर्जा भुक्तानी, बीमा प्रिमियम, सेवा शुल्क, सवारी खरिद लगायत शीर्षकमा गरिएको खर्च वैध आयभन्दा अत्यधिक देखिएको अख्तियारको निष्कर्ष छ।

थापाले आफ्नो आम्दानी लुकाउँदै श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतको नाममा सम्पत्ति राखेको अभियोगमा उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूको नाममा जग्गा, सेयर, बीमा र बैंक मौज्दात रहेको अख्तियारको दाबी छ।

विशेष अदालतको यो फैसला सार्वजनिक पदमा रहँदाको समयमा आर्जित सम्पत्तिमा पारदर्शिता नदेखाउने जनप्रतिनिधिका लागि गम्भीर सन्देशको रूपमा आएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज