काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता गरिएको संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक पुनः प्रतिनिधिसभामा पेस गरिएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबारको बैठकमा उक्त विधेयक पुनः पेस गरेका हुन्। ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ संशोधन गर्न बनेको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो।
तर राष्ट्रपति पौडेलले विधेयकको केही प्रावधान संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्य–मान्यता तथा अन्तर्राष्ट्रिय अभ्यास प्रतिकूल रहेको ठहर गर्दै संविधानको धारा ११३(३) अनुसार पुनर्विचारको सिफारिससहित प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।
अब यो विधेयक पुनः संसद्मा छलफलको प्रक्रियामा प्रवेश गरेसँगै संसद्भित्र दलहरूबीच मतभेद थप चर्किने अनुमान गरिएको छ। राष्ट्रपति र संसदबीचको यो विधेयक फिर्ता प्रकरण संवैधानिक अभ्यासमा एउटा नयाँ मिसालको रूपमा पनि हेरिएको छ।