सिट बुकिङका लागि २० हजार बुझाएका विद्यार्थीको शुल्क फिर्ता नगर्ने युनिग्लोबलाई २ लाख ५ हजार जरिवाना

काठमाडौं । एक विद्यार्थीबाट सिट बुकिङका नाममा लिएको २० हजार रुपैयाँ फिर्ता नगरेको भन्दै युनिग्लोब हाइयर सेकेन्डरी स्कुलमाथि कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हक उल्लंघन गरेको ठहर गर्दै स्कुललाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागका अनुसार ती विद्यार्थीले अध्ययनका लागि २० हजार बुझाए पनि पछि पूर्ण छात्रवृत्ति पाएर अन्य शिक्षालय रोजेका थिए। सेवाप्राप्त नगरेको अवस्थामा रकम फिर्ता हुनुपर्नेमा स्कुलले आलटाल गरेपछि विद्यार्थीले विभागमा उजुरी दिएका थिए। विभागका वरिष्ठ निरीक्षण अधिकृत अमित झाका अनुसार सेवाग्राहीलाई कुनै सेवा नदिइ पैसा फिर्ता नगरेको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसारको कसुर ठहर गर्दै दफा ३९ को १ (ख) बमोजिम जरिवाना गरिएको हो।

त्यसैगरी, विभागले काठमाडौं महानगरपालिका–१६ मा रहेको प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई पनि कारबाही गरेको छ। शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई कन्सल्टेन्सी सञ्चालन गरेको पाइएपछि एकेडेमीलाई १ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

यस्तै, विभागले आइतबारको अनुगमनमा काठमाडौं र ललितपुरमा रहेका अन्य केही शिक्षासम्बन्धी संस्थाहरू र व्यवसायहरूलाई पनि काजजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज