हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पदमुक्त भएका छन्। मंगलबार हेटौंडामा भएको संसदीय दलको बैठकमा बहुमत सांसदले उनको नेतृत्वको विपक्षमा मतदान गरेपछि उनी दल नेताको हैसियत गुमाएका हुन्।
३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा तामाङको पक्षमा १५ मत मात्र पर्यो भने इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत आएको छ। दलमा बहुमत गुमाएसँगै तामाङको मुख्यमन्त्री पद पनि संकटमा परेको छ।
सांसद मीनकृष्ण महर्जनका अनुसार, “आज दल नेताका पक्ष-विपक्षमा मत विभाजन गरियो, जसमा तामाङको पक्षमा १५ र विपक्षमा २२ मत आएको हो। अब भोलि दलको नयाँ नेता चयनका लागि मतदान हुनेछ।”
संसदीय दलको नेताबाट हटाइएपछि तामाङ पुनः निर्वाचनमा सहभागी हुने या नहुने विषय स्पष्ट भइसकेको छैन। तर दलमा बहुमत हासिल गरेका इन्द्रबहादुर बानियाँलाई नयाँ दल नेता र मुख्यमन्त्री बनाउने तयारी कांग्रेसले अघि सारेको छ।
यसबीचमा मुख्यमन्त्री तामाङ नेतृत्वको मन्त्रिपरिषदमा रहेका पाँचजना कांग्रेस मन्त्रीले राजीनामा दिइसकेका छन्। गत शुक्रबार २१ जना सांसदले तामाङविरुद्ध लिखित असहमति जनाउँदै हस्ताक्षर बुझाएका थिए।
यसबारे प्रतिक्रिया नआए पनि तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। विवाद उत्कर्षमा पुगेपछि सभापति देउवाले प्रतिनिधिसभा सदस्य राजन केसीलाई बागमती कांग्रेस संसदीय दलको आन्तरिक विवाद मिलाउने जिम्मेवारी दिएका थिए।

