काठमाडौं । बलात्कार आरोपमा अदालतबाट सफाइ पाएका एक युवकले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै जन्मदिनको पार्टी मनाएको भिडियो सार्वजनिक भएपछि प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार छानबिन समिति प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा गठन गरिएको हो। उक्त टोलीले भोलिबाटै घटनास्थल सप्तरी पुगेर विस्तृत अनुसन्धान थाल्ने जानकारी दिइएको छ।
जबरजस्ती करणी मुद्दामा अदालतबाट सफाइ पाएपछि राजविराज–६ का आकाश आदर्श अनुसन्धान अधिकृत इन्स्पेक्टर मनिष श्रेष्ठसँग पार्टीमा देखिएका थिए। जन्मदिनको बहानामा डीएसपी जितेन्द्रकुमार बस्नेतको कोठामा उक्त पार्टी आयोजना गरिएको थियो।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनको निष्पक्षता र आचरणप्रति प्रश्न उठेका छन्। घटनाको प्रकृति संवेदनशील रहेको र मुद्दा अदालतमा विचाराधीन रहँदा आरोपीसँग प्रहरी अधिकृतको सामीप्यता देखिनु गम्भीर विषयका रूपमा हेरिएको छ।
यस घटनापछि प्रहरी प्रधान कार्यालय नक्सालले पनि गम्भीर चासो देखाएको छ। डीआईजी चतुर्वेदीले भने, “अनुसन्धान अधिकृत र आरोपीबीचको निकटता स्वीकार्य छैन। यस्तो कार्य अनुशासनविपरीत र अशोभनीय हो। दोष देखिएमा विभागीय कारबाही हुन्छ।”
यसअघि सप्तरीका तत्कालीन एसपी ढकेन्द्र खतिवडा आर्थिक अनियमितताको छानबिनमा परेपछि हटाइएका थिए। त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी बस्नेत नै विवादमा मुछिएका हुन्। घटनामा मुछिएका इन्स्पेक्टर श्रेष्ठको सरुवा चितवन भइसकेको छ।
प्रहरी संगठनभित्र यस्ता घटनाले निष्पक्ष अनुसन्धान र जनविश्वासमा प्रतिकूल असर पार्ने भएकाले उच्च तहबाटै कडाइ अपनाउने तयारी गरिएको छ। डीआईजी चतुर्वेदीले छानबिन समितिको प्रतिवेदनको आधारमा कडा अनुशासनात्मक कारबाही हुने बताएका छन्।