ह्विल लक कार्यविरुद्ध उच्च अदालतमा रिट: आज सुनुवाइ, कानुनी आधारबिना मौलिक अधिकार हननको आरोप

काठमाडौं । सवारीसाधनमा नगर प्रहरी र ट्राफिक प्रहरीले लगाउँदै आएको ‘ह्विल लक’ को कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। रिटमाथि आज न्यायाधीश खडानन्द तिवारीको इजलासमा सुनुवाइ हुँदैछ।

कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार रिट दर्ता गर्दै ह्विल लक लगाउने कार्य संविधान र कानुनी व्यवस्था विपरीत रहेको भन्दै रोक लगाउन माग गरेका हुन्। उनका अनुसार यो कार्यले नागरिकको मौलिक हकमा प्रत्यक्ष हस्तक्षेप गर्छ भने कानुनी आधार समेत छैन।

रिटमा काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका, महानगरीय प्रहरी बल, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ।

यसअघि चौधरीले गत चैत १५ गते रिट पेश गरेका थिए, तर अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले दरपीठ गरेका थिए। पछि असार ५ गते न्यायाधीश श्यामकुमार भट्टराई र कृष्णराम कोइरालाको इजलासले दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि आइतबार रिट पुनः दर्ता गरिएको हो।

रिटमा उल्लेख गरिएको छ कि कुनै कानुनी प्रावधानबिना ट्राफिक वा नगर प्रहरीले सवारीमा ह्विल लक लगाउने कार्य स्वेच्छाचारी हो र यसले सवारीधनीको संवैधानिक अधिकार कुण्ठित गर्छ।

सम्बन्धित समाचार

ताजा न्यूज