कैलाली कारागारभित्र युवकको मृत्यु प्रकरण छानबिनका लागि सात सदस्यीय समिति गठन

धनगढी । कैलाली जिल्ला कारागारमा थुनिएको भोलिपल्टै मृत्यु भएका डडेल्धुराका एक युवकको घटनालाई लिएर प्रशासनले सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

बैंकिङ कसुर मुद्दामा असार १ गते कैलाली कारागार चलान गरिएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु रहस्यमय बनेपछि सार्वजनिक आक्रोश चुलिएको हो।

आफन्तले पालीको शरीरमा चोटपटक रहेको भन्दै कुटपिटबाट हत्या गरिएको आशंका गरेका छन्। उनीहरूले शव बुझ्न अस्वीकार गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। घटनाको विरोधमा डडेल्धुरामा बुधबार बजार, यातायात र राजमार्गसमेत अवरुद्ध गरिएको थियो।

स्थानीय दबाबसँगै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिमा प्रशासकीय अधिकृत शिवराज जोशी, डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवल्दार नरेश साउद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य छन्।

समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्देशन दिएका छन्।

मृतक पालीको शवको पोष्टमार्टम अहिलेसम्म हुन सकेको छैन। उनको मृत्युको निष्पक्ष छानबिनको माग गर्दै डडेल्धुरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज