धनगढी । कैलाली जिल्ला कारागारमा बेहोस अवस्थामा भेटिएका एक युवकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। मृतक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरीश पाली हुन्, जो बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
सोमबार राति साढे १० बजे पालीलाई कारागारमै अचेत अवस्थामा फेला परेपछि तत्कालै अस्पताल पुर्याइएको थियो। तर, सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोही रात उनको मृत्यु भएको कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिएका छन्।
तिमिल्सिनाका अनुसार पालीलाई अस्पताल लैजाँदा उच्च ज्वरो र निकै कम रक्तचाप रहेको पाइएको थियो। साथै, उनको मुख, खुट्टा र शरीरका अन्य भागमा चोटपटक देखिएको बताइएको छ।
यिनै चोटपटकलाई आधार बनाएर मृतकका आफन्तले कारागारभित्र कुटपिटका कारण उनको मृत्यु भएको आशंका गरेका छन् र उनीहरूले शव बुझ्न अस्वीकार गरेका छन्। मृतकको शव हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ।
हरीश पालीमाथि जिल्ला अदालत डडेल्धुराले २०८० सालमा बैंकिङ कसुरमा दोषी ठहर गर्दै १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो। फैसला पछि फरार रहेका उनलाई गत असार १ गते मात्र कैलाली प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।