काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन गठित दुई आयोगका लागि अध्यक्ष र सदस्य सिफारिस गरिएको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको सिफारिस समितिले १० जनाको नाम अन्तिम सूचीमा राख्दै सरकारलाई बुझाउने तयारी गरेको छ।
स्रोतअनुसार बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाको नाम सिफारिस गरिएको छ। गड्तौलाको नाममा नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रबीच सहमति बनेको छ। श्रोतको भनाइअनुसार तीनै दलले संयुक्त रूपमा उनको नाम प्रस्ताव गरेका हुन्।
त्यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा सिफारिस भएका छन्। उनी पूर्वसरकार वकिलसमेत हुन् र लामो समय न्यायिक सेवा सम्हालिसकेका छन्। थापाको नाममा पनि प्रमुख तीन दलबीच सहमति बनेको स्रोतले जनाएको छ।
यसअघि माओवादी केन्द्रले अध्यक्ष पदको माग गर्दै आएको थियो। तर अन्ततः दुई आयोगमा थापा र गड्तौलाको नाममा पार्टीहरूले सहमति जनाएका छन्। कांग्रेसले यसअघि सत्य निरुपण आयोगको अध्यक्षमा शेरबहादुर केसीलाई अघि सार्ने प्रयास गरेको थियो, तर पीडित समुदायको अस्वीकारपछि उनले विकल्प खोजेका थिए।
सिफारिस समितिले अब सरकारलाई औपचारिक सिफारिस पेश गर्ने तयारी गरिरहेको छ। सम्भवतः आउँदो बिहीबारसम्म मन्त्रिपरिषद्बाट नियुक्ति प्रक्रिया टुंगो लाग्ने अनुमान गरिएको छ।
योजना अनुसार, सत्य निरुपण आयोग कांग्रेसको भागमा पर्ने र बेपत्ता आयोग एमालेको भागमा पर्ने गरी दलहरूबीच समझदारी बनेको हो। तर अन्तिममा उम्मेदवारहरूको उपयुक्तताका आधारमा साझा सहमति भएको बताइएको छ।
यसअघि यही सिफारिस समिति गत वर्ष पुस २ मा सिफारिस गर्न असफल भएको थियो। यसपटक भने अपेक्षाकृत चाँडो निर्णय प्रक्रियामा उन्मुख भएको देखिएको छ।