राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
त्यस क्रममा उहाँले  नीति तथा कार्यक्रम  सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने  उद्देश्यसहित प्रस्तुत भएको बताउनुभयो ।
     प्रधानमन्त्री ओलीले भन्नुभयो,“देशलाई सार्वभौसमसत्ता सम्पन्न, स्वाधीन, स्वतन्त्रता राख्दै राष्ट्रिय हितको जगेर्ना र प्रवद्र्धन गर्नुपर्ने आवश्यकतालाई नीति तथा कार्यक्रमले समेटेको छ ।”
     उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अराजकतालाई राजनीतिक आचरणको रुपमा अगाडि बढाइएकोप्रति र जनताप्रति  चिन्ता व्यक्त गर्दै प्राणलीमाथि गरिने प्रहारप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रलाई अस्वीकार गर्ने र पुरानो प्रणालीको वकालतका नाममा प्रणालीको विरोध गर्ने, सार्वजनिक र जनताको सम्पत्ति हानि गर्ने तत्वविरुद्ध सजग हुनुपर्नेमा जोड दिनुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले दिनुभएका सुझावलाई आगामी बजेटमा समेट्ने विश्वास व्यक्त गर्नुभयो । ”
     उहाँले सबैको भावना अनुरुप सहमतिका आधारमा संविधान संशोधन गरिने स्पष्ट पार्नका साथै शिक्षालाई सर्वसुलभव र जीवनउपयोगी बनाईने, वर्तमान शिक्षा पद्धतिलाई आधुनिक र वैज्ञानिक बनाइने, सुदृढ र सन्तुलित छिमेक र अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताउनुभएको थियो ।
     प्रधानमन्त्री ओलीले सरकारी निकायबाट सञ्चालित कार्यक्रम उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारबीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायिकीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको जानकारी दिनुुभएको थियो ।
शोक प्रस्ताव पारित
बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाका अध्यक्ष  दाहालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मङ्गलबार अपराह्न  १ः१५ बजे हुनेछ

सम्बन्धित समाचार

ताजा न्यूज