काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस), प्रदर्शनी मार्गमा भएको तोडफोड घटनामा संलग्न भएको अभियोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का १९ जना नेता तथा कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
वैशाख २२ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी विवादका क्रममा नेविसंघका कार्यकर्ताहरूले क्याम्पसको शैक्षिक वातावरणमा अवरोध पुर्याउँदै तोडफोड गरेका थिए। घटनापछि क्याम्पस प्रशासनले प्रहरीमा जाहेरी दर्ता गराएको थियो। त्यसकै आधारमा प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँदै पक्राउ पुर्जी जारी गरेको हो।
तोडफोडको घटना नयाँ कार्यसमिति चयनलाई लिएर भएको विवादसँग जोडिएको छ। निर्वाचन समितिले अनेरास्ववियुबाट अध्यक्षमा उम्मेदवार रहेका लोकेश खड्काको नेतृत्वमा सर्वपक्षीय सहमतिका आधारमा स्ववियु समिति गठन गरेको थियो। उक्त समितिमा नेविसंघका तर्फबाट शैलेन्द्र उपाध्याय सचिवमा चयन भएका थिए।
तर, नेविसंघका अध्यक्ष पदका उम्मेदवार विनोदराज जोशीसहित ६ जना उम्मेदवारले नयाँ कार्यसमितिको गठनप्रति असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सम्बन्धित पक्षसँग लिखित जवाफ माग गरिसकेको छ।