सुदूरपश्चिमका कानुन व्यवसायीको ध्यानाकर्षण: न्यायप्रक्रियाको मर्यादा रक्षा गर्न आग्रह

धनगढी। सुदूरपश्चिमका कानुन व्यवसायीहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र मर्यादालाई सुरक्षित राख्न जोड दिएका छन्। उच्च अदालत बार एशोसिएसन सुदूरपश्चिम र सुदूरपश्चिम जिल्ला अदालत बार एशोसिएसनले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा न्याय सम्पादन प्रक्रियालाई अवरोध पुर्‍याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा उल्लेख छ कि अदालतका निर्णयहरूप्रति असन्तुष्टि जनाउने नाममा नारा जुलुस, होहल्ला तथा न्यायिक प्रक्रिया प्रभावित पार्ने प्रयासहरू न्यायको सिद्धान्त विपरीत र स्वीकार्य नहुने चेतावनी दिइएको छ।

हालै उच्च अदालत सुदूरपश्चिमको निर्णयविरुद्ध केही दिनदेखि निरन्तर समुदायहरूलाई उक्साउने, झुट्टा सूचना प्रवाह गर्ने, भ्रम फैलाउने कार्यहरू देखिएको भन्दै विज्ञप्तिमा त्यसप्रति चिन्ता व्यक्त गरिएको छ। गत माघ १६ गतेको फैसलालाई लिएर अदालत परिसरमै अवाञ्छित गतिविधि र गेट तोडफोड गर्ने प्रयास गरिएको दाबी गरिएको छ।

संगठनका अध्यक्षहरू अधिवक्ता राम बहादुर भण्डारी र अधिवक्ता दुर्गा प्रसाद सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा अदालतको निर्णय नै अन्तिम नभएको भन्दै पुनरावेदन गर्ने संवैधानिक अधिकार सुनिश्चित रहेको स्मरण गराइएको छ।

अदालतको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र विधिको शासनको स्थायित्वका लागि सबै पक्षले संयमित, मर्यादित र शान्तिपूर्ण व्यवहार अपनाउन आग्रह गरिएको छ।

*समाचारमा प्रकाशित तस्बिर फरक परेकोले सच्याइएको छ । -सम्पादक

सम्बन्धित समाचार

ताजा न्यूज