काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को २७ औं वार्षिकोत्सव एवं छैटौं दीक्षान्त समारोहमा बुधबार अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
बुधबार दीक्षित हुने चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै अर्थमन्त्री महतले दीक्षित हुने बेला गरेको प्रतिबद्धता मात्रै पनि पालना गरिदिएको अवस्थामा मुलुकको आर्थिक प्रणाली आफैं अनुशासित हुने टिप्पणी गरे । ‘तपाईंहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा आउने लोभ, लालच, धम्की वा डरबाट किञ्चित नहिचकिचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता गर्दछु भन्नुभएको छ,’ उनले भने, ‘यही प्रतिबद्धता मात्र पनि पूर्ण रूपमा पालना गर्नुस्, वित्तीय अनुशासन आफैं ठीक ठाउँमा आउँछ ।’
भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको अवस्था निराशाजनक देखिएकाले वित्तीय सुशासनमा सुधार ल्याउनुपर्ने र त्यसका लागि चार्टर्र्ड एकाउन्टेन्टको भूमिका अपरिहार्य रहेको उनले बताए । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा यथावत् छ ।
१८० देशमा गरिएको सर्वेक्षणमा नेपाल भ्रष्टाचार नियन्त्रण र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । जुन गत वर्षको ११० औं स्थानभन्दा दुई अंकले सुधार हो । नेपालको कर प्रणाली सुधारका लागि उक्त सेवामा चार्टर्ड एकाउन्टेन्टलाई कसरी जोड्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेको उनले बताए । ‘हाम्रो कर प्रणालीलाई अझै चुस्त बनाउन संरचनात्मक र प्रणालीगत सुधार गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि चार्टर्ड एकाउन्टेन्टहरू उपयुक्त स्रोत हुन सक्छन् ।’