काठमाडौं । एसिया र एसिया–प्रशान्त क्षेत्रका कानून व्यवसायीहरूको छाता सङ्गठन ‘ल एसिया’ (LAWASIA) को ४०औँ अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२७ मा नेपालमा आयोजना हुने भएको छ। नेपाल बार एसोसिएसन (नेबाए) को आतिथ्यमा काठमाडौँमा हुने उक्त सम्मेलन नेपालका कानून व्यवसायीहरूका लागि एउटा ऐतिहासिक अवसर बन्नेछ।
दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ३९औँ ल एसिया अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा उक्त निर्णयको आधिकारिक घोषणा गरिएको हो। ३० भन्दा बढी देशका ६०० भन्दा बढी कानून व्यवसायीहरूको सहभागिता रहेको सियोल सम्मेलनको उद्घाटन समारोहलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङ, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संवैधानिक अदालतका प्रधानन्यायाधीश, संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुन, द कोरिया बार एसोसिएसनका अध्यक्ष तथा ल एसियाका अध्यक्षले सम्बोधन गर्नुभएको थियो।
सम्मेलनकै क्रममा भएको निर्वाचनबाट वर्ष २०२६–२०२७ को १ वर्षे कार्यकालका लागि नेपालका अधिवक्ता सरोजकृष्ण घिमिरे ल एसियाको कार्यकारी समिति सदस्यमा पुनः निर्वाचित हुनुभएको छ। उहाँ लगातार चौथो पटक ल एसियाको कार्यकारी समितिमा निर्वाचित हुनुभएको हो।

नवनिर्वाचित कार्यसमिति सदस्य घिमिरेका अनुसार काठमाडौँमा हुने ४०औँ सम्मेलनमा संसारभरका ५०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका कानून व्यवसायी, प्राध्यापक तथा कानूनी विज्ञहरूको सहभागिता रहनेछ। सो सम्मेलनमा जलवायु परिवर्तन, कानूनी शासन, मानव अधिकार, आदिवासीका अधिकार, स्वतन्त्र न्यायपालिका, कानून व्यवसायीको संरक्षण र व्यावसायिक दायित्वलगायतका विविध विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

