काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा मुछिएका माओवादी पूर्व कमाण्डर गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको छ। बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चकै संयुक्त इजलासबाट पाएको सफाइको फैसला उल्ट्याउँदै बटालालाई कैद सजाय तोकेको हो।
२०६५ साल वैशाखदेखि जारी रहेको यो मुद्दाले करिब १८ वर्षपछि पूर्णता पाएको छ। यसअघि चितवन जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) ले बटालालाई ३ वर्ष कैदको फैसला सुनाएका थिए। तर, पछि सर्वोच्च अदालतको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो। उक्त फैसला विरुद्ध परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले सजाय बढाएर १० वर्ष कायम गरेको सर्वोच्च अदालतका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। यही मुद्दामा अर्का आरोपित ड्राइभरले भने सफाइ पाएका छन्।
लामो समयदेखि यो मुद्दामा पैरवी गर्दै आउनुभएका वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चको पछिल्लो फैसलाले पीडित परिवारलाई ठूलो राहत मिलेको बताए। उनले भने, “२०६५ सालदेखिको अनवरत कानुनी लडाइँले आज पूर्णता पाएको छ। जिल्ला अदालतले ३ वर्षको कैद तोकेको र उच्च अदालतले त्यसलाई सदर गरेको अवस्थामा सर्वोच्चको संयुक्त इजलासबाट बटालाले सफाइ पाएका थिए। तर, आज सर्वोच्चको पूर्ण इजलासले १० वर्षको कैद सजाय कायम गरेर न्यायको मर्मलाई स्थापित गरेको छ।”
२०६५ साल वैशाखमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिई चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो। शिविरमा अत्यधिक कुटपिट र यातनाका कारण श्रेष्ठको मृत्यु भएको थियो। उनको शव पछि नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। २०६८ साल जेठ १७ गते जिल्ला अदालत चितवनले पहिलोपटक यो घटनामा बटालालाई ३ वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता विभिन्न अदालत हुँदै सर्वोच्चसम्म आइपुगेको यो मुद्दा नेपाली न्याय प्रणालीमा निकै चर्चामा रहेको थियो।

