उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, जिल्लाअनुसार फरक–फरक व्यवस्था

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ। आयोगका अनुसार भौगोलिक अवस्था र निर्वाचन क्षेत्रको प्रकृतिका आधारमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारले अधिकतम २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै काठमाडौँ–२, ४, ५, ९ र १० का उम्मेदवारका लागि खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ। भक्तपुर र ललितपुर जिल्लाका उम्मेदवारले पनि अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।

झापा–१ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटलगायतका जिल्लाका उम्मेदवारका लागि खर्च सीमा २९ लाख रुपैयाँ कायम गरिएको छ। झापा–२, ३ र ५ का उम्मेदवारले भने अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।

त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी र बैतडीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारका लागि अधिकतम खर्च सीमा ३३ लाख रुपैयाँ तोकिएको छ।

आयोगले उम्मेदवारले चुनावी खर्च बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। साथै उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी नाम, नामेसीसहितको विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सम्पूर्ण खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज