समानुपातिकतर्फ ६४ दलको प्रतिस्पर्धा : ५८ चिन्हमा ३,४२४ उम्मेदवार, कुन दलले कति सिटका लागि दिए बन्दसूची?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका अनुसार ती दलले ५८ वटा निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा भाग लिने भएका छन् । कुल ३,४२४ जना उम्मेदवार बन्दसूचीमा समेटिएका छन् ।

आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फ उपलब्ध सबै ११० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी दलले न्यूनतम १० देखि अधिकतम १०१ सिटसम्मका लागि बन्दसूची पेश गरेका छन् । कानुनी व्यवस्थाअनुसार न्यूनतम ११ जना समेट्नुपर्ने प्रावधानमा ६ वटा दलले ठीक ११ जनाको मात्रै बन्दसूची बुझाएका छन् ।

बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बनेको छ भने अन्तिममा नेपाली कांग्रेसले सूची दर्ता गराएको आयोगले जनाएको छ । ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्हमा प्रतिस्पर्धा गर्न बन्दसूची पेश गरेका छन् भने १० वटा दल ४ वटा साझा निर्वाचन चिन्हमा चुनावी मैदानमा उत्रिएका छन् ।

आम जनता पार्टी र जनादेश पार्टी नेपालले ‘मोबाइल’ चिन्ह, सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘सिंह’ चिन्ह, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘जाँतो’ चिन्ह तथा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपालले ‘बस’ चिन्हमा समानुपातिकतर्फ भाग लिन बन्दसूची पेश गरेका छन् ।

कुन दलको कति सिटमा बन्दसूची?

निर्वाचन आयोगमा दर्ता विवरणअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, जनमत पार्टीलगायत २२ दलले ११० सिटकै लागि बन्दसूची पेश गरेका छन् । केही दलले भने सीमित सिटका लागि मात्रै उम्मेदवारी दर्ता गराएका छन्, जसमा जनता समाजवादी पार्टी, नेपालले १०१ सिट, जय मातृभूमि पार्टीले ५५ सिट, नेपाल जनता पार्टीले ६० सिट, संयुक्त नागरिक पार्टीले ६१ सिटका लागि बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगले बन्दसूची प्रारम्भिक रूपमा सार्वजनिक गरी दाबी–विरोधको प्रक्रिया अघि बढाइसकेको छ । कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम बन्दसूची स्वीकृत हुने आयोगको तयारी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज