काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानतमा रिहा भएका छन्। आवश्यक प्रमाण तत्काल उपलब्ध नभएको र स्वास्थ्य अवस्थालाई समेत मध्यनजर गर्दै सरकारी वकिल कार्यालय, काठमाडौंले धरौटीमा राखेर अनुसन्धान अघि बढाउने निर्णय गरेपछि उनी हिरासतमुक्त भएका हुन्।
सरकारी वकिलको निर्णयपछि शेरचनलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। सीआईबीका अनुसार बयानलगायत केही प्रक्रिया बाँकी रहे पनि म्याद थपका लागि प्रस्तुत गर्दा सरकारी वकिलबाट धरौटीमै अनुसन्धान गर्ने निर्णय आएको हो।
विशेष सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुखले अघिल्लो पटक म्याद थपका क्रममा विशेष अदालतबाट थप प्रमाण पेश गर्न निर्देशन भए पनि ती प्रमाण तत्काल संकलन हुन नसकेको बताए। यस्तो अवस्थामा बाहिरै राखेर अनुसन्धान गर्न सकिने देखिएको र स्वास्थ्यसम्बन्धी कारण समेत जोडिएकाले म्याद थप नगरिएको उनको भनाइ छ।
यसअघि शेरचनसँगै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्धको अनुसन्धान प्रक्रिया भने जारी रहने बताइएको छ।

