काठमाडौं । शनिबार साँझ त्रिभुवन विमानस्थलको उडान अवतरण ४ घण्टा ठप्प भयो । जहाज उडान ठप्प भएका कारण आन्तरिक उडानका जहाज जहाँ छन् त्यहीँ रोकिए भने अन्तर्राष्ट्रियका जहाज केहीले घन्टौ होल्ड गरेर भारत वा बंगलादेश डाइभर्ट गरे । तर भैरहवामा गएनन् ।
त्रिभुवन विमानस्थल बन्द हुँदा यी विमानस्थलमा जहाजहरू किन डाइभर्ट भएनन् भनेर प्रश्न उठेको छ । क्यानका अधिकारीहरू जहाजलाई कहाँ डाइभर्ट गर्ने भन्ने विषय सम्बन्धित एयरलाइन्सको छनोटमा भर पर्ने बताउँछन् ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रतापबाबु तिवारीले आफूहरू तयार हुँदा पनि एयरलाइन्सहरू नै भैरहवा नजाने गरेको बताए । शनिबार काठमाडौंमा विमानस्थल बन्द हुँदा भैरहवा र पोखरा विमानस्थल खुलै थिए, तर त्यहाँ जहाँजहरू डाइभर्ट नभएको उनले बताए ।
‘सामान्यत एयरलाइन्सहरूले सेड्युल फ्लाइटका लागि वैकल्पिक विमानस्थल पनि पहिल्यै तय गरेका हुन्छन्, उनीहरूले आफ्नो सहजता र समन्वयका हिसाबले विमास्थल छनोट गर्छन्,’ उनले भने, ‘भैरहवा विमानस्थल खुलै हुँदा पनि त्यहाँ डाइभर्ट नभएर दिल्ली, लखनउ गए, यो उनीहरूको छनोट हो । हामीले यता आऊ, उता नजाऊ भन्न मिल्दैन ।’
विमानस्थलसँगको दूरी, इन्धनको मूल्य, होटेलसँगको सहकार्य, ग्राउन्ड ह्यान्डलिङ चार्जलगायत हेरेर विमान कम्पनीले जहाज डाइभर्ट गर्ने क्यानकै एक पूर्वप्रमुखले बताए ।
‘दिल्ली र ढाकाको तुलनामा काठमाडौंबाट नजिकै रहेकोे भैरहवामा इन्धन, ग्राउन्ड ह्यान्डलिङलगायतमा छुट सुविधा दिँदासमेत एयरलाइन्सको रुचिमा नपर्नु चिन्ताको विषय हो,’ उनले भने, ‘यदि हाम्रा विमानस्थलमा समस्या छन् भने सुधार गर्नुपर्छ, होइन भने क्यानले एयरलाइन्सहरूसँग समन्वय गरेर हाम्रै विमानस्थलको उपयोग गराउनुपर्छ ।’

