काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्तिसुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ ।
स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।