सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङलाई दिइयो उन्मुक्ती, ११ विरुद्ध मुद्दा सिफारिस

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थित मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सम्पन्न गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नताको प्रमाण नदेखिएकाले उनीविरुद्ध मुद्दा नचलाउने राय दिइएको छ।

सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार बुधबार बुझाइएको प्रतिवेदनमा ११ जनालाई प्रतिवादी बनाउने सिफारिस गरिएको छ। तीमध्ये गुरुङकी पूर्वश्रीमती तथा मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ, बर्दियाका ज्योतिबहादुर भण्डारी, धादिङका सुवास खत्री, बर्दियाका सुरेश अधिकारी, प्रकाश थापा र हितमान थापा लगायत छन्।

अनुसन्धानमा करिब १४ करोड रुपैयाँ सहकारी सदस्यको रकम ठगी भएको पुष्टि भएको छ। साथै, सहकारी सञ्चालकहरूलाई रकम तिर्ने बहानामा झण्डै साढे तीन करोड रुपैयाँ उल्टै ठगी गरिएको पाइएको छ। प्रतिवेदनमा यी रकम बिगोका रूपमा मागदाबी गर्नुपर्ने रायसमेत छ।

मुख्य अभियुक्त भण्डारीले विदेशमा रहेर अनलाइन फिसिङमार्फत सहकारीका पदाधिकारीहरूलाई प्रलोभनमा पार्दै ठगी गरेको, त्यस क्रममा करिब ३ करोड ४४ लाख रुपैयाँ झिकाएको, र उक्त रकम हुन्डी र क्रिप्टो कारोबारमार्फत विदेश पठाएर क्यासिनोमा लगानी गरेको सीआईबीको भनाइ छ। भण्डारीको समूहले ६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार र ठूलो मात्रामा क्रिप्टो कारोबार गरेको तथ्य पनि खुलेको छ।

भण्डारीविरुद्ध ठगी, संगठित अपराध, हुन्डी, अभौतिक मुद्रा कारोबार, कीर्ते, र लिखतसम्बन्धी कसुरका मुद्दा दर्ता गर्न सिफारिस गरिएको छ। उनीसँग दुई वटा फरक जिल्ला र नम्बरका नागरिकता तथा राहदानी रहेको पाइएको छ।

जसपटकको अनुसन्धानपछि प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्ने बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज