काठमाडौं । बलात्कार अभियोगमा मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत काठमाडौंले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासबाट थुनछेक आदेश आएको हो। सरकारी वकिलको कार्यालयले मंगलबार बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा अहिराजविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।
अहिराजमाथि राजधानीको बानेश्वरस्थित एक होस्टलमा बस्दै आएकी युवतीलाई २०८१ जेठ ४ गते बलात्कार गरेको आरोप छ। पीडितका अनुसार, सो दिन कोठामा अरू कोही नभएको मौका छोपेर बारम्बार बलात्कार गरिएको र घटना सार्वजनिक गरे मार्ने धम्कीसमेत दिइएको थियो।
घटनापछि पीडितले प्रहरीसमक्ष जाहेरी दर्ता गर्ने प्रयास गरे पनि तत्काल सफल हुन सकिनन्। पटक–पटकको प्रयासपछि उनी जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेकी थिइन्। कार्यालयले कात्तिक ३० गते प्रहरी परिसरलाई पत्राचार गरेपछि मात्रै माघमा जाहेरी दर्ता गरिएको हो।
जाहेरीपछि अनुसन्धानको सिलसिलामा प्रहरीले चैत २५ मा अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर, सूचना लिक भएपछि अहिराज फरार भएका थिए। उनी साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए।
पूर्वप्रदेश प्रमुख रहिसकेका अहिराजले भने आफू निर्दोष रहेको जिकिर गर्दै पीडित युवतीविरुद्ध पनि मुद्दा दायर गरेका छन्। उनले युवतीमाथि आपराधिक लाभ लिन खोजेको आरोप लगाउँदै बुधबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका हुन्।
उनको जाहेरीअनुसार युवतीले पटक–पटक रकम माग गरेकी थिइन्। भदौ १८ मा बैंक खाता नम्बर पठाएर २० लाख रुपैयाँ माग गरेको र तीन लाख नगद लिएर होस्टलमा बोलाएको दाबी अहिराजको छ।
तर पीडित युवतीले भने उक्त रकम आफूले नै दिएका प्रमाणसहितको भएको दाबी गर्दै आएका छन्। सरकारी वकिलसमक्षको बयानमा उनले पैसासम्बन्धी आरोप अस्वीकार गरेकी छन्।
अहिराज २०७७ फागुनदेखि २०७८ साउनसम्म मधेस प्रदेशको प्रमुखका रूपमा कार्यरत थिए। शक्तिशाली पदमा रहे पनि अहिले बलात्कारजस्तो गम्भीर मुद्दामा थुनामा पठाइएपछि पूर्वप्रदेश प्रमुखको भूमिका र सार्वजनिक छविप्रति प्रश्न उठ्न थालेको छ।
अब न्यायिक प्रक्रियामा दुवै पक्षको बयान, प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा आगामी कदम तय हुनेछ। यो मुद्दाले राजनीतिक र कानुनी तहमा समेत व्यापक बहस सिर्जना गरेको छ।