बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्वमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा बानियाँले दलको नेता तथा वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पराजित गर्दै नेतृत्व फिर्ता लिन सफल भएका हुन्।

कांग्रेसका कुल ३७ जना प्रदेशसभा सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामा १४ मतमा सीमित भए। एक मत बदर भएको थियो।

यो निर्वाचन लामामाथि दलभित्रैबाट आएको अविश्वास प्रस्तावसँग जोडिएको हो। मंगलबार मात्र लामाविरुद्ध आएको अविश्वास प्रस्तावमा २२ मत परेको थियो, भने समर्थनमा १५ मत मात्र देखिएको थियो।

बानियाँको पक्षमा ९ साउनमा २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि लामा नेतृत्वको सरकारमा रहेका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँलाई साथ दिएका थिए।

यो द्वन्द्व बानियाँ र लामाबीच दोस्रो पटकको प्रतिस्पर्धा हो। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछिको पहिलो संसदीय दल निर्वाचन १३ पुस २०७९ मा भएको थियो, जसमा बानियाँ लामा बिरुद्ध ५ मतले पराजित भएका थिए। तर, साढे दुई वर्षपछि उनले त्यही प्रतिस्पर्धीलाई उल्ट्याउँदै जित हात पारेका छन्।

उल्लेखनीय कुरा के छ भने बानियाँ र लामा दुबै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समुहका नेता हुन्। तर आन्तरिक गुटबन्दी र असन्तुष्टिको कारणले लामाको नेतृत्व अस्थिर बनेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज