काठमाडौं । आन्तरिक विवाद चुलिएको बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन्।
पार्टीभित्रको असन्तुष्टि र नेताहरूको दबाबका बीच अध्यक्ष श्रेष्ठले स्वास्थ्य समस्याका कारण पार्टीको दैनिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने भन्दै बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकिएको पत्र सार्वजनिक गरेकी हुन्।
‘स्वास्थ्य अवस्थाले पार्टीका महत्त्वपूर्ण निर्णयमा निरन्तर सहभागी हुन कठिन भएकाले कार्यप्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले वरिष्ठ उपाध्यक्षलाई जिम्मेवारी दिएकी छु,’ श्रेष्ठले पत्रमार्फत उल्लेख गरेकी छन्।
यसअघि शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए। बास्तोला पोखरा महानगरपालिका–६ निवासी र पार्टीभित्रका वरिष्ठ नेतामध्ये एक मानिन्छन्।