काठमाडौं । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको आरोपसहितको अडियो सार्वजनिक भएको छ। पोखराको १३५ रोपनी जग्गा व्यक्तिगत नाममा दर्ता गराउने चलखेलमा मन्त्री अधिकारी, उनका छोरा मनोज अधिकारी, सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्ता र सचिव अर्जुन पोखरेल समेत जोडिएका छन्।
उकेराले सार्वजनिक गरेको ११ मिनेट ३४ सेकेण्ड लामो अडियोमा घुस लेनदेनबारेको कुराकानी स्पष्ट सुनिन्छ । सार्वजनिक अडियोअनुसार पोखराको जग्गा दर्ता मिलाउन गुप्ता समूहसँग मिलेर डेढ करोडभन्दा बढी रकम लेनदेन भएको दाबी गरिएको छ। तीमध्ये मन्त्री अधिकारीले ३२ लाख, राजीनामा दिइसकेका सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख, सचिव पोखरेलले ५ लाख र कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेतले रकम लिएको उल्लेख छ।
अडियो संवादमा मन्त्री अधिकारीले पैसा छोरा मनोज अधिकारीमार्फत लिएको दाबी गरिएको छ। न्यूज़ील्याण्डमा बस्दै आएका मनोज अधिकारीले बुवाको हैसियत प्रयोग गर्दै नेपाल फर्किएपछि पैसा संकलन गर्ने गरेको भनिएको छ। उनी मन्त्रालयअन्तर्गत हुने सरुवाका काममा समेत आर्थिक चलखेलमा संलग्न भएको अडियोमा दाबी छ।
मन्त्रालय मातहतको भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिबारे पनि अडियोमा उल्लेख गरिएको छ। त्यही प्रसंगमा मन्त्री अधिकारीले “पहिला आएको भए त म गर्थेँ नि” भन्दै पुनप्रति आफू सकारात्मक रहेको सन्देश दिएका छन्।
राजीनामा दिइसकेका गुप्ताको पनि अडियोमा भूमिका देखिन्छ। सचिवसंगको झगडाको उल्लेख गर्दै गुप्ताले “पशुपतिनाथ र छोराको कसम खाएर” काम गरिदिने अडान लिएका छन्। साथै, जग्गा दर्ता प्रक्रिया मिलाउने क्रममा पोखराको होटलमा सचिवलाई महँगो खाना, मदिरा र नगद ५ लाख दिएको दाबी पनि अडियोमा सुनिन्छ।
मन्त्री बलराम अधिकारीका छोरा सुजन अधिकारीले समेत आफ्नो बुवाले पैसा लिएको पुष्टि गरेको दाबी अडियोमा गरिएको छ। अडियो अनुसार मन्त्रीलाई ३२ लाख रुपैयाँ मन्त्री क्वाटरमै लगेर बुझाइएको हो।