धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन्। कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रतिनिधित्व गर्दै ४ जेठमा मन्त्री बनेका चौधरी बजेट निर्माणलगायतका प्रक्रियामा समन्वयबिहीन रूपमा अघि बढेको भन्दै मुख्यमन्त्री असन्तुष्ट थिए। चौधरीले मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गरेको भन्दै उनलाई पदबाट हटाइएको हो।
चौधरी यसअघि कृषि मन्त्री हुँदा अनुदानका नाममा किसानहरूबाट रकम असुल्ने समूहसँग जोडिएको प्रकरणमा समेत मुछिएका थिए। पावर टिलर वितरण योजनामा अनियमितता भएको आरोपमा कैलालीकी सुशिला खड्कासहित केही व्यक्तिहरू प्रहरी अनुसन्धानमा परिसकेका छन्।
यसअघि सोही मन्त्रालय सम्हालेका नाउपाका मन्त्री लक्ष्मणकिशोर चौधरी पनि दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक चलखेलको योजना बनाएको आरोपमा मुछिएर राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि रामेश्वर चौधरीलाई नाउपाले मन्त्री बनाएको थियो।
निरन्तर विवादमा आउने मन्त्रीहरूका कारण सुदूरपश्चिम सरकार र नाउपाबीचको सम्बन्धमा असर पर्ने देखिएको छ।