काठमाडौं । पतञ्जलि समूहलाई राज्यको नाममा रहेको जग्गा गैरकानुनी रूपमा उपलब्ध गराएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ।
विशेष अदालतमा भएको सुनुवाइमा नेपालको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाको नेतृत्वमा सयभन्दा बढी अधिवक्ताले वकालतनामा दर्ता गराएका छन्। पूर्वप्रधानमन्त्री नेपालको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ताहरूमा गोविन्द बन्दी, गोपालकृष्ण घिमिरे, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टीकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवाली, हरिहर दाहाल, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा र खगेन्द्र अधिकारीलगायत रहेका छन्।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार “नेपालको पक्षबाट मात्रै १०० जना अधिवक्ताले वकालतनामा पेश गरेका छन्।”
यस मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहन सागर बश्यालको नेतृत्वमा सरकारी वकिल टोलीले बहस गर्दैछ। आयोगको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि वकालत गरेका छन्।
अख्तियारले पतञ्जलि आयुर्वेदलाई ललितपुरको भैंसेपाटीस्थित सार्वजनिक जग्गा सस्तो मूल्यमा उपलब्ध गराइएको भन्दै नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।