कानुनमन्त्री चौरसियाको सांसद सिंहलाई कडा चुनौती : प्रमाण छ भने पेस गर्नुस्

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहबाट उठाइएको आरोपप्रति कडा आपत्ति जनाएका छन्। सांसद सिंहले मन्त्री चौरसियाले विभिन्न तहका न्यायाधीशहरूलाई मुद्दासम्बन्धी विषयमा फोन गरेको दाबी गरेपछि मन्त्री चौरसियाले स्पष्ट शब्दमा चुनौती दिँदै भनेका छन्, “मेरो विरुद्धमा प्रमाण छ भने संसद्मै पेस गर्नुस्।”

प्रतिनिधिसभाको सोमबारको बैठकमा कानुन मन्त्रालयको आगामी वर्षको बजेटमाथि छलफल चलिरहेका बेला मन्त्री चौरसियाले सांसद सिंहको आरोपलाई “निराधार, काल्पनिक र असत्य” भन्दै खण्डन गरे। उनले संसद् जस्तो जिम्मेवार मञ्चमा यथार्थबिना लगाइने आरोप गम्भीर हुने चेतावनी दिए।

“माननीय सांसदले जब आरोप लगाउनुहुन्छ, उहाँसँग प्रमाण के छ? मेरो कल डिटेल हेर्न सकिन्छ भने उहाँको पनि हेर्न सकिन्छ। उहाँको न्याय क्षेत्रका व्यक्तिहरूसँग सम्पर्क कसरी भयो भन्नेबारे पनि अनुसन्धान हुनु पर्छ,” मन्त्री चौरसियाले भने।

मन्त्री चौरसियाले आफूले संविधान र कानुनको दायरा नाघेर कुनै न्यायाधीश नियुक्त नगरेको स्पष्ट पारे। उनले न्यायाधीश नियुक्तिमा कुनै ‘पार्टी सिन्डिकेट’ वा ‘दलीय प्रभाव’ परेको भन्ने दावी अस्वीकार गरे।

सांसद सिंहले असार ५ गतेको बैठकमा मन्त्री चौरसियामाथि जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशलाई मुद्दासम्बन्धी निर्देशन दिन फोन गरेको आरोप लगाएका थिए। उनले चौरसियाको मोबाइल कल डिटेल सार्वजनिक हुनुपर्ने मागसमेत गरेका थिए।

सिंहले भनेका थिए, “कानुनमन्त्री बिहानै मुद्दा कहाँ छ भनेर हेरेर सम्बन्धित न्यायाधीशलाई फोन गर्नुहुन्छ भन्ने सुन्दै आएको छु। जिल्ला हो भने एक नम्बर न्यायाधीशलाई, उच्च अदालत हो भने प्रमुखलाई, सर्वोच्च हो भने त्यहाँका न्यायाधीशलाई फोन गर्नुहुन्छ रे। यसबारे सत्य तथ्य बाहिर आउनुपर्छ।”

तर चौरसियाले सांसद सिंहकै न्याय क्षेत्रका व्यक्तिसँगको उनको सम्बन्ध पनि जाँच गर्नुपर्ने धारणा राख्दै, आरोप लगाउनु अघि प्रत्येक सांसदले प्रमाणको आधारमा बोल्नुपर्ने सुझाएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज