‘तीनकुने घटना’का सम्बन्धमा प्रतिवादी बनाइएका रवीन्द्र मिश्र अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। ‘तीनकुने घटना’का सम्बन्धमा प्रतिवादी बनाइएका मिश्र मंगलबार बिहान अदालतमा हाजिर भएका हुन्। अदालत स्रोतका अनुसार आजै उनको थुनछेक बहस हुने छ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरसम्बन्धी चारवटा मुद्दामा अभियोजन गरिएको छ। सरकारले गत जेठ ११ गते उनलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।

तीनकुनेमा गत चैत १५ गते भएको घटनापछि मिश्र सोही राति पक्राउ परेका थिए। त्यसपछि उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी हाजिरी जमानीमा छुटेका थिए। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।

यसअघि सोमबार सोही मुद्दामा राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज