अवैध उत्खनन प्रकरणः बागमती नगरपालिकाका निलम्बित प्रमुख थापा ५० लाख धरौटीमा रिहा

काठमाडौं । अवैध ढुंगा, गिटी, बालुवा उत्खनन प्रकरणमा पक्राउ परेका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

सर्लाही जिल्ला अदालतमा दायर मुद्दामा थापामाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको आरोप लगाइएको छ। यसका लागि उनीसहित अन्य पदाधिकारीहरूमाथि एक अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको छ।

अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासमा आइतबार थुनछेक बहस भएको थियो। सोही दिन अदालतमा उपस्थित भएका थापालाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो।

यस प्रकरणमा बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणमा अनियमितता गरेको अभियोगमा थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज