माधव नेपाल भन्छन्, अदालतले न्याय दिनेछ, सत्यको विजय हुनेछ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप निराधार भएको दाबी गर्दै अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित मधेश प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “मैले जीवनमा कुनै पनि व्यक्तिगत स्वार्थका लागि काम गरेको छैन। अब पनि सत्यका पक्षमा दृढताका साथ उभिन्छु। मलाई पूर्ण विश्वास छ – अदालतले न्याय दिनेछ। न्यायको जित हुनेछ, अन्यायको पराजय हुनेछ।”

उनले आफूविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा तथ्यहीन भएको बताउँदै चुनौतीको सामना गर्न तयार रहेको स्पष्ट पारे। “हामी डराउनु पर्ने अवस्था छैन, भाग्नु पर्ने झनै होइन। जब काम असल मनसायका साथ गरिएको हो, तब डरको कुनै औचित्य हुँदैन,” अध्यक्ष नेपालको भनाइ थियो।

पूर्वप्रधानमन्त्री नेपालले पतञ्जलि समूहसँग सम्बन्धित जग्गा प्रकरणमा कुनै गैरकानुनी गतिविधि नगरेको जिकिर गरे। “अहिलेसम्म न एक पैसा लिएको छु, न त कुनै दामको घुस खान लागेको छु। यसमा मेरो कुनै निजी लाभ जोडिएको छैन,” उनले प्रस्ट पारे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि आयुर्वेदसँग सम्बन्धित सानोगाउँस्थित जग्गा प्रकरणमा नेपालसहित केही पूर्वमन्त्री तथा अधिकारीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै यो विषय सार्वजनिक चासोको केन्द्रमा आएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज