विराटनगर । तुलसी सहकारीको वचत अपचलन गर्ने केदारनाथ शर्मालाई ६ वर्ष कैद र साढे ६७ करोड विगो र त्यति नै जरिवानाको फैसला भएको छ । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं रुपैयाँ अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ । साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार मणि पोखरेलले जानकारी दिए ।
त्यसैगरी, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ ।
सहकारीकी सचिव सविना न्यौपानेलाई भने २ वर्ष कैद र पीडित राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ ।
सहकारीको नाममा सदस्यहरूबाट संकलन गरिएको ठूलो रकम हिनामिना भएको भन्दै पीडितहरूले पटक–पटक न्याय माग्दै आएका थिए । अदालतको पछिल्लो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूले राहत पाएका छन् ।