काठमाडौं । बहुचर्चित राजपुर बम काण्डमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएपछि आज रिहा भएका छन्।
उच्च अदालतले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमसहित चार जनालाई सफाइ दिएको हो। अदालतको पत्र नख्खु कारागार कार्यालयमा पुगेसँगै आलम रिहा भएको जेलर भीमराज कोइरालाले जानकारी दिए।
उनलाई लिन कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना नख्खु जेल पुगेका थिए।
अदालतले आलमसँगै उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज उर्फ शेख सराज र बद्री सहनीलाई पनि सफाइ दिएको छ।
२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा ज्यानै लिएर जलाएको आरोप आलममाथि लागेको थियो।
प्रहरी अनुसन्धान अनुसार, विस्फोटपछि घटनालाई ढाकछोप गर्न आलमको निर्देशनमा घाइतेहरूलाई ट्रयाक्टरमा राखेर इँटाभट्टामा जलाइएको भनिएको थियो।
रौतहट जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरको इजलासले पर्याप्त प्रमाण अभावका कारण उक्त फैसलालाई बदर गर्दै सफाइ दिएको हो।