काठमाडौँ । इन्टरनेसनल ब्याक्कालेरेट (आईबी) को नाममा अभिभावकहरूबाट महँगो शुल्क लिएको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई प्रतिष्ठित निजी विद्यालयमा छापा मारेको छ।
बुढानिलकण्ठ नगरपालिका–६ स्थित युरो स्कुल र टोखा नगरपालिका–४ स्थित मिल्सवेरी इन्टरनेशनल स्कुलमा विभागको टोलीले एकै दिन छापा मारेको हो।
विभागका निरीक्षण अधिकृत अमित कुमार झाले विद्यालयहरूले “आईबी” भनेर सिंगापुरको फ्रेन्चाइज़ लिएको देखाए पनि व्यवहारमा सरकारी विद्यालयकै पाठ्यक्रम पढाइरहेको भेटिएको बताए। “सिंगापुरबाट फ्रेन्चाइज़ ल्याएर विदेशी बोर्डको नाममा शुल्क लिएका छन्, तर पढाइ भने सरकारी पाठ्यक्रमको छ,” उनले बताए।
युरो स्कुलले कक्षा १ का विद्यार्थीबाट मासिक ३६ हजार ५०० रूपैयाँ शुल्क लिएको पाइएको छ भने बस भाडा ४ हजारदेखि ८ हजार रूपैयाँसम्म असुल्ने गरिएको छ। यस्तै, भर्ना शुल्क नै डेढ लाख रूपैयाँसम्म लिइएको विभागको प्रारम्भिक अनुसन्धानमा खुलिएको छ।
विद्यालयहरूले आईबी बोर्डको नाममा अभिभावकहरूलाई भ्रममा पारी ठगी गर्दै आएको ठहर गर्दै विभागले आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ र तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
निरीक्षक झाले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड, २०७२ अनुसार शुल्क कुनै पनि हिसाबले मिल्दो नदेखिएको बताए। त्यस्तै, आईबी बोर्ड भन्दै विदेशी स्तरको शिक्षा भनेर प्रचार गरिएको भए पनि पढाइ भने नेपाली शिक्षकहरूद्वारा लेखिएको पुस्तकबाट गराउने गरिएको विभागले जनाएको छ।
यस प्रकरणमा थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।