नीति तथा कार्यक्रम पारित गर्न एमालेको सांसदहरूलाई ह्विप जारी

काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गराउने तयारीमा नेकपा एमालेले आफ्ना सांसदहरूलाई कडाईका साथ ह्विप जारी गरेको छ। पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तोलाले सबै सांसदहरूलाई संसद बैठकमा अनिवार्य रूपमा उपस्थित भई सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधिसभामा छलफल जारी छ। प्रतिनिधिसभाको आगामी वैशाख २८ गतेको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिने कार्यसूची तय भइसकेको छ।

यही सन्दर्भमा एमालेले आफ्ना सांसदहरूलाई कुनै पनि हालतमा अनुपस्थित नहुन र स्पष्ट रूपमा पक्षमा मतदान गर्न निर्देशन दिएको हो। ह्विपमा उल्लेख गरिएको छ, “नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन सूचित गरिन्छ।”

सरकारको नेतृत्व गरिरहेको एमालेका लागि नीति तथा कार्यक्रम पारित गराउनु राजनीतिक रूपमा प्रतिष्ठासँग जोडिएको विषय बनेको छ। यसले सरकारको स्थायित्व र आगामी नीति कार्यान्वयनको दिशालाई समेत निर्धारण गर्ने भएकाले एमालेले संसदीय रणनीति मजबुत बनाएको देखिन्छ।

सम्बन्धित समाचार

ताजा न्यूज