काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्मअनुसार न्यायमा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कानुन दिवसको अवसरमा सर्वोच्च अदालतमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले छिटोछरितो न्याय सम्पादनमा जोड दिनुपर्ने बताए।
राष्ट्रपतिले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, मानव अधिकार र स्वतन्त्र न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्न कानुन र न्याय क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख गरे।
उनले भने, “नयाँ कानुन निर्माण तथा प्रचलित कानुनमा समसामयिक सुधार गरी प्रविधिको प्रयोगमार्फत न्यायमा सबैको पहुँच सुनिश्चित हुनुपर्छ। मुद्दाको शीघ्र व्यवस्थापनमार्फत न्याय सम्पादन छिटो र प्रभावकारी बनाइनुपर्छ।”
राष्ट्रपति पौडेलले विधिको शासन कायम राख्न र न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयप्रति जनआस्था बढाउनुपर्नेमा जोड दिए। “कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गरोस्,” उनले शुभकामना व्यक्त गर्दै भने।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विष्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्चपदस्थ व्यक्ति सहभागी थिए।
राष्ट्रपतिले ऐतिहासिक पृष्ठभूमिमा सन् २००८ सालमा लागू भएको प्रधान न्यायालय ऐनले राज्य सत्ताको पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको आधारशिला स्थापना गरेको स्मरण गर्दै कानुन दिवसको विशेष महत्व रहेको बताए।