ईसेवा ह्याक गरेर १ करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ

काठमाडौँ । डिजिटल वालेट सेवा ईसेवा मार्फत नागरिकको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति कञ्चनपुर स्थायी घर भई हाल काठमाडौँ अनामनगरमा बस्दै आएका २२ वर्षीय राहुल बुढा हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, राहुलले फिसिङ प्रविधि प्रयोग गरी झण्डै ४ हजार भन्दा बढी प्रयोगकर्ताका खाताबाट रकम निकाल्ने कार्य गरेका थिए। उनले विभिन्न नाममा खाता सस्पेन्ड हुने चेतावनी दिँदै ‘द अर्लट’, ‘एटी अलर्ट’ जस्ता नामसहितको नक्कली सन्देश (SMS) पठाउँथे। त्यसपछि प्रयोगकर्तालाई झुक्याएर लिंक खोल्न लगाई, ईसेवाको लगइन विवरण प्राप्त गरी अनधिकृत पहुँच बनाउने गर्थे।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार बुढाले यसरी जम्मा १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेका थिए। चोरेको सबै रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालि नामक कम्पनीको मर्चेन्ट खातामा सारेका थिए।

प्रहरीले वैशाख २ गते उनलाई काठमाडौँको कालिमाटी क्षेत्रबाट पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ।

प्रहरीले साइबर सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै आम नागरिकलाई अनधिकृत लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न र शंका लागेमा सम्बन्धित सेवा प्रदायकसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज