काठमाडौं । अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको पोलिटब्युरोले निर्णयको छ । केपी ओलीको सरकारलाई अप्ठ्यारोमा पार्दै विपक्षी गठबन्धन बनाउने गरी उक्त निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)ले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी पोलिटब्युरो बुधबार बसेको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको, अन्तरवस्तु पनि गलत र हानिकारक रहेको निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पनि अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ। अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्।
अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरबस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ पोलिटब्युरो बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण
एकीकृत समाजवादीले भारतको ओडिसा राज्यको कलिंग इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र नेपाली विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्राबासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न यो पोलिटब्युरोको बैठकले नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
्
आजको बैठकले, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायतका केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू पारित गरेको विज्ञप्तिमा जनाइएको छ।
केन्द्रीय कमिटी बैठक बिहीबार र शुक्रबार बस्नेछ।